वीरगञ्ज । नयाँ वर्ष २०८२ को आगमनसँगै देशभर उत्सवको माहोल रहेको बेला वीरगञ्जमा भने वातावरण केही फरक रह्यो । हनुमान जयन्तीको दिन उत्पन्न झडपपछि लगाइएको निषेधाज्ञाले वीरगञ्जवासीले नयाँ वर्षको उल्लास अरू वर्षझैं मनाउन पाएनन् ।
गत चैत ३० गतेको साँझ सुरु भएको निषेधाज्ञा चैत ३१ को मध्यरातसम्म लागू रहेपछि नयाँ वर्ष लक्षित सबै कार्यक्रम, विशेषगरी रात्रि बजार जस्ता सार्वजनिक जमघट स्थगित गरियो ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार, वीरगञ्जको विषम परिस्थिति र निषेधाज्ञाको कारणले पहिले नै बुकिङ भइसकेका होटलहरू एकाएक खाली भए । विशेषतः भारतीय पर्यटक, जो नयाँ वर्ष मनाउन वीरगञ्ज आइपुगेका थिए, वातावरण अशान्त भएपछि होटल छाडेर फर्किए ।
“नयाँ वर्षको ‘इभ’मा करिब ५५प्रतिशत ‘अकुपेन्सी’ थियो, तर निषेधाज्ञाले गर्दा सबै पाहुना जाँदै गए,” अध्यक्ष पन्तले बताए । “सधैँझैं होटलहरू भरिनुपर्ने बेला अहिले सूनसान छ ।”
वीरगञ्ज बजार क्षेत्रमा मात्र ८५ भन्दा बढी होटल र लज छन् । तारे होटलहरू जस्तै दियालो, क्लार्क रिसोर्ट, सुरज होटललगायत सुविधासम्पन्न होटलमा पनि पाहुना नदेखिनु यहाँको व्यापारिक अवस्था कति कमजोर भयो भन्ने संकेत हो । “बन्द, हड्ताल र निषेधाज्ञा जस्ता गतिविधिले होटल मात्र होइन, सम्पूर्ण व्यापार व्यवसायमा असर पारिरहेको छ,” पन्त भन्छन्, “यस्ता गतिविधि सधैँका लागि बन्द हुनुपर्छ । नत्र पर्यटन व्यवसायमा लगानी गर्न जोखिमा पर्नेछ।”
भारतको रक्सौल नाका हुँदै दैनिक हजारौं भारतीय पर्यटक नेपाल प्रवेश गर्छन् । तर आकर्षक गन्तव्यको अभावमा ती पर्यटक वीरगञ्जबाट सिधै अन्य शहरतर्फ लाग्ने गर्छन् । वीरगञ्जलाई केवल ‘बाटो’को रूपमा मात्र प्रयोग गरिएको पाइएको छ।
त्यसैले वीरगञ्ज महानगरपालिकाले कम्तीमा पनि दुई रात पर्यटकलाई यही आसपासमा राख्न सक्ने योजना बनाइरहेको जनाएको छ । करिब १० अर्ब लागतमा सञ्चालनमा रहेका होटल र व्यवसायलाई फाइदा पुर्याउन, यो योजना निर्णायक हुनसक्ने आशा गरिएको छ।
