वीरगञ्ज । शनिबार वीरगञ्जको छपकैया क्षेत्रमा दुई समुदायबीच भएको विवाद समाधानका लागि पर्सा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ । हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा उत्पन्न तनाबपछि स्थानीय प्रशासनले सबै सरोकारवालाहरूसँग छलफल गर्न बैठक डाकेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार बिहान १०:३० बजेबाट बैठक सुरु हुने जानकारी दिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बैठकका लागि बोलाइएका विभिन्न राजनीतिक दल, समुदाय प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थालिइसकेको छ ।
शनिबार साँझ भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले सोही दिन साँझ ६:३० बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले सुरक्षाको लागि नेपाली सेना समेत परिचालन गरिएको छ ।
झडप हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न भएको हो । एक पक्षले शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको आरोप लगाए भने अर्का पक्षले मस्जिदबाट ढुङ्गा प्रहार भएको दाबी गरेका छन् । दुवै पक्षका आरोप–प्रत्यारोपबीच स्थिति तनावपूर्ण बन्दै गएपछि प्रशासनले कर्फ्यु र बैठकमार्फत शान्ति र सहमतिको प्रयास थालेको हो ।



