रौतहट । रौतहट जिल्लामा ठूलो परिमाणको लागू औषध गाँजा र अवैध हात हतियार सहित एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नं. ०१ अन्तर्गत झोलुङ्गे पुल नजिकको केरावारी क्षेत्रमा एम्बुस गरी सोमबार राति सो सफलता हात पारेको हो ।
सोमबार राति करिब १:४५ बजे प्रहरीले चार जनाको समूहलाई टाउकोमा प्लास्टिकको बोरा बोकी भारततर्फ जाँदै गरेको अवस्थामा देखे पछि उनीहरूलाई रोकेको थियो । समूहका केही व्यक्तिहरूले टर्च बालेर बाटो देखाउँदै थिए भने अन्यले गाँजा भएको शंका गरिएका बोरा बोकेका थिए । प्रहरी देखेपछि समूहका सदस्यहरू बोरा र टर्च छाडेर दक्षिणतर्फ भागैका थिए ।
त्यस क्रममा रौतहट प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ०४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई लखेटी पक्राउ गर्न सफल भएको हो । भाग्ने क्रममा लडेका गिरीले हातहतियार फालेको प्रहरीको भनाइ छ। उनलाई नियन्त्रणमा लिएर तलासी गर्दा उनको लगाएको हाफ पाइन्टको खल्तीबाट 8MM KF लेखिएको तीन राउण्ड गोली र एक थान Realme 12x 5G मोबाइल फेला परेको थियो ।
प्रहरीले घटनास्थलको आसपासको क्षेत्रमा खोजतलास गर्दा भूँइमा लोड गरिएको एक थान कटुवा पेस्तोल पनि फेला पारेको छ। साथै, घटनास्थल देखि करिब ५० मिटर वरिपरि चारवटा बोरा भेटिएका छन्, जसको भित्र स-साना ११ वटा पोका रहेको र तीमध्ये जम्मा १०९ किलोग्राम गाँजा जस्तो देखिने लागू औषध फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
पक्राउ परेका गिरीलाई लागू औषध (गाँजा) ओसारपसार तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक दिलिप घिमिरेले जनाएको छ । साथै, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान र खोजीकार्य तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा लागू औषध तथा हतियार तस्करी नियन्त्रण गर्न निगरानी बढाएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताएको छ ।
