काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ः१५ बजे सञ्चालन हुने छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणी करणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । राष्ट्रिय सभामा ‘तिलगंगा नेत्र विश्वबिद्यालय विधेयक, २०८१’ को सम्बन्धमा प्राप्त सन्देशसहित विधेयक प्रस्तुत गरिनेछ ।
गृह मन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने प्रस्ताव पनि पेश गरिनेछ, र उक्त विधेयकमा प्राप्त संशोधनहरूलाई निर्णयका लागि प्रस्तुत गरिनेछ। यो विधेयक आजै पारित गर्ने सम्भावना रहेको छ ।
राष्ट्रिय सभामा ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालय तथा वन र वातावरण मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनेछन्। राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी पनि दिइनेछ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ बारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने छन् ।
उपप्रधानमन्त्री र अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित ‘बैंकिङ कसुर र सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि छलफल गर्न प्रस्ताव राख्नेछन्, र उक्त विधेयक पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
