काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा आगलागी भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बोसीगाँउमा हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन गरेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउसमा गएराति साढे १ बजेदेखि आगलागी भएको हो ।
सात वटा दमकल र विभिन्न ठाउँबाट आएको १५ वटा पानी ट्याङकरको प्रयोगमार्फत आज बिहान ६ बजे आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिए ।
उहाँका अनुसार चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटिको दमकल र बुढानीलकण्ठ नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो । क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।



