वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पससहित देशभरका क्याम्पसमा आज (सोमबार) संघरसंगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न ३ बजेसम्म संघरसंगठन दर्ताको कार्यक्रम राखिएको हो ।
फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । त्यही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गतेका लागि तोकिएको छ । त्यही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने फागुन २८ गतेका लागि तोकिएको छ ।
त्यही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय फागुन २९ गतेका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली फागुन २९ गते नै सार्वजनिक गरिने छ ।मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।



