बारा । बारा जिल्लाको सदरमुकाम कलैयामा ‘निःशुल्क कपडा बैंक’ स्थापना गरिएको छ । ग्रामीण उत्थान अभियान कलैया द्वारा गरिब तथा विपन्न परिवारलाई निःशुल्क लत्ताकपडा उपलब्ध गराउने उद्देश्यले यो बैंक सञ्चालनमा ल्याइएको हो ।
संस्थापक मोकद्दम अन्सारीका अनुसार कपडा किन्न आर्थिक रूपमा असमर्थ परिवारलाई सहायता गर्न यो अभियान सुरु गरिएको हो । कलैया उपमहानगर पालिकाका नगर प्रमुख बिनोद साहले कपडा बैंक विपन्न, असहाय, एकल महिला, दलित, मजदुर वर्गका व्यक्तिहरूका लागि ठूलो राहत बन्ने विश्वास व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यस अभियानलाई नियमित रूपमा सञ्चालन गर्न कार्यविधि बनाउनु पर्ने सुझाव दिँदै आफूहरू सहकार्यका लागि तयार रहेको बताए ।
संस्थापक अध्यक्ष माधुरी गिरीका अनुसार बैंक सुरु भएको पहिलो घण्टामै ३५ जनाभन्दा बढीले लत्ताकपडा लगेका छन्, जसले स्थानीय विपन्न समुदायलाई यस बैंकले ठूलो सहयोग पुर्याउने संकेत गरेको छ । स्थानीय प्रशासन तथा समाजसेवीहरूले कपडा बैंकलाई निरन्तरता दिँदै अन्य ठाउँहरूमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
