काठमाडौं । नेपाल र भारतबीच निजगढ–हरनैया–मोतीहारी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ । दुई देशका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा उक्त सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिइएको हो ।
बैठकमा कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण तथा ढल्केबर–मुजफ्फरपुर लाइनको क्षमता वृद्धिको विषयमा पनि सहमति भएको छ । हाल ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत ८०० मेगावाट बिजुली आदान–प्रदान भइरहेको छ, जसलाई १,००० मेगा वाटसम्म विस्तार गरिनेछ ।
यसअघि इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन निर्माणमा समेत नेपाल–भारतबीच सहमति भइसकेको छ । हाल न्यूबुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य जारी छ ।
नेपालबाट भारततर्फ १०,००० मेगावाट र बङ्गलादेशतर्फ ५,००० मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यअनुसार उच्च क्षमताका प्रसारण लाइन आवश्यक भएकाले दुई देशले सहकार्यलाई तीव्रता दिएका छन् ।
बैठकमा सुदूरपश्चिम प्रदेशका लागि चमेलिया–जैलिजीवी २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको विषयमा पनि छलफल भएको छ । सो प्रसारण लाइन सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
ऊर्जा व्यापार विस्तारका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको चार महिनामा मात्र भारतलाई १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो ।
नेपाल–भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माणका पछिल्ला सहमतिहरूले ऊर्जा व्यापारलाई थप सहज बनाउने र दीर्घकालीन लक्ष्य पूरा गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
