काठमाडौं । मकवानपुर प्रहरीले हेटौँडा–१५ रातोमाटेबाट ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित ४ जना लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरूमा हेटौँडा–८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षीय भीमसेन पाण्डे, हेटौँडा–७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा–५ का २० वर्षीय साकार ढुंगेल रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेका प्र.२–०३–०२१ प ६३०८ र बा.प्र.०३–००५ प ९६६६ नम्बरका मोटरसाइकल चेकिङको क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।
उनका अनुसार शङ्काका आधारमा शरीर तथा मोटरसाइकल खानतलासी गर्दा निखिल तिमल्सिनाको बायाँ खुट्टाको जुत्ताभित्र लुकाइएको खैरो हिरोइन फेला परेको थियो ।
प्रारम्भिक सोधपुछका क्रममा चारै जना मिलेर लागूऔषध खरिद गरेको स्वीकारेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
