काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने बताउनुभएको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा बिहीबार माओवादी मुख्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने भन्दै यसलाई कसैले मेट्ने प्रयास गरे खरानी हुने बताउनुभएको हो ।
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालत ले स्थगन गरेपनि यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा रहेको स्पष्ट पार्नुभयो । जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताउनुभयो ।
प्रचण्डले विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी फेरि पनि देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गर्नुभयो । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र बिफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उहाको भनाइ छ ।
