वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयहरु आजदेखि सञ्चालनमा आएको छ । नगरपालिका अन्तर्गतको विद्यालयका शिक्षक, कर्मचारीहरुले आ.व. २०८१\०८२ को श्रावण महिनादेखि हाल सम्म तलव–भत्ता र विद्यालय सञ्चालन खर्च नपाएका भन्दै माघ ६ गते देखि विद्यालय बन्द गरी विद्यालयका साँचो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।
विद्यार्थीहरुको माध्यामिक शिक्षक परीक्षा (एस.इ.इ) लाई मध्यनजर आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नेपाल शिक्षक महासंघले जनाएको छ । शिक्षक महासंघकै नेतृत्वमा शिक्षकहरुले नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयको चावी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।
चावी फिर्ता दिदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयको तर्फबाट गर्नुपर्ने प्रयत्न धेरै गरेपनि समस्या समाधान हुन नसकेपनि शिक्षक कर्मचारीहरुले नागरिक, समाज र देशको लागि खटिनुपर्ने भएकाले विद्यार्थीहरुको भविष्यलाई सम्झिएर शिक्षकहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा किर्तज्ञता व्यक्त गरे । उनले नेतृत्वले लिनुपर्ने पहलकदमी नलिएपनि शिक्षकहरुको नैतिकता र उच्च इमान्दारिताले समस्या समाधान भएको आफूले बुझेको बताए ।
बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखामा कर्मचारी आवश्यकताको भर्ना खुलेकोमा त्यसमा नगर प्रमुख सिंगासन सा तेलीले नियम र प्रकृया विपरित आफूले भनेका व्यक्तिहरुलाई नियुक्ति गर्न भनेपनि प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले नमानेपछि विवाद शुरु भएको थियो । उनले असार १० गते नै बोलाउनुपर्ने नगरसभा पनि बोलाएका थिएनन् ।
ढिलो गरी कार्तिक १२ गते नगरसभा भएपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा नभएसम्म अख्तियारी नदिने बालहठ कसेर बहुदरमाई नगरपालिकालाई बन्धक बनाईएको थियो । त्यसबाट नगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षकहरु तल सुविधा पाउनबाट बञ्चित भएका थिए ।
तरपनि शिक्षकहरुले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने निर्ण गरेका हुन् । उनीहरुले नगरपालिकाको ठप्प रहेको सम्पूर्ण काम सञ्चालनमा ल्याउन र विद्यालयसँग सरोकारित शिक्षकरशिक्षिकारवालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको तलव भत्ता र विद्यालय सञ्चालन खर्च यथाशीघ्र उपलव्ध गराउन समेत जनप्रतिनिधि र बहुदरमाई नगरपालिकासँग अनुरोध गरेको छ । तलव–भत्ता र विद्यालय सञ्चालन खर्च उपलब्ध नगराएमा पुनः कडा भन्दा कडा आन्दोलनको कार्यक्रम गरिने पनि जनाएका छन् ।
