वीरगञ्ज । बाराको ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार बिहान दुईजना अफिम कारोबारीलाई १३ केजी अफिम सहित पक्राउ गरेको छ । स्कुटरमा अफिम लिएर वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरअंक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोबाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का सुर्यबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिइन् ।
मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाए पछि ईलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न घेरा हालिसकेको थियो । प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
बरामद भएको अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य दुई करोड भन्दा बढि रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
