काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सरकारले दम्भ देखाएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेशहरुबाट शासन चलाउने कामले कांग्रेस–एमालेको सरकारले दम्भ देखाएको आरोप लगाउनुभएको हो ।
उहाले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न समेत गर्नुभयो । सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्याएको उल्लेख गर्दै उहाँले आपत्ति जनाउनुभयो ।
रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको उल्लेख गर्दै उहाँले यो सार्वभौम संसदको अपमान र अवहेलना भएको जिकिर गर्नुभयो । उहाले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको उल्लेख गर्नुभयो ।
राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको भन्दै उहाले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिएको बताउनुभयो । उहाले आफैले आफैलाई सफल भएको घोषणा गरेर संसद र जनतालाई झुक्काउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
प्रचण्डले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गर्नुभयो । सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर रहेको उहाले बताउनुभयो ।
प्रचण्डले माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरुको अहिले बोलि फेरिएको उल्लेख गनुृभयो । कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै नसुनिएको उहाले टिप्पणी गर्नुभयो । उहाले प्रधानमन्त्री केपी ओलीलाई दुई दलको सरकार ८४ सम्म टिक्केमा विश्वास नरहेको तर्क गर्नुभयो ।
प्रचण्डले आफुहरु अव सत्ताको खेलमा नरहेको र जनतातर्फ फर्किएको जिकिर गर्नुभयो । एमाले–कांग्रेसको संगतबाट लागेको धुलो टकटकाउने क्रममा रहेको उहाले बताउनुभयो । उहाले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानविन अवरुद्ध पारेकोमा आपत्ति जनाउनुभयो । उहाले जनताको शक्ति लिएर सरकारमा जाने र फेरी बिभिन्न प्रकरणका फाइल खोल्ने चेतावनी दिनुभयो । पछिल्ला सात महिनामा सरकारले जनताको केही पनि आवाज नसुनेको उल्लेख गर्दै उहाँले आज जनता पनि सरकारलाई नसुन्ने ठाउँमा पुगेको बताउनुभयो ।
उहाले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरु खुशी भएको उल्लेख गर्नुभयो । प्रचण्डले सहकारीबाट ऋण लिएको भेटिएन भनेको रास्वपा सभापति रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोग लाएर महिनौँ हिरासतमा राखिएको भन्दै आपत्ति जनाउनुभयो ।
अदालतले पुर्पक्षका निम्ति थुनामा नपठाएपछि सांसद पदमा निलम्बन संवैधानिक नहुने उहाले बताउनुभयो । सहकारी प्रकरण मा सत्तापक्ष नेतालाई उन्मुक्ति दिइएको र लामिछानेलाई फसाउने काम भएको प्रचण्डको भनाइ छ ।
