काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान आज देखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खोप दिन लागिएको हो ।
पर्सा जिल्लाका झण्डै ३९ हजार किशोरीहरुलाई ‘एचपिभी खोप’ लगाउने लक्ष्य छ । स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप लगाइनेछ ।
पर्सा जिल्लामा आज विहान १० बजे वीरगञ्जबाट अभियानको शुरुआत हुदैछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ हुने ठाकुरले बताए ।
पर्सामा खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण माघ २२ देखि माघ २८ गतेसम्म वीरगञ्ज महानगरपालिका ९वडा १–१६०, पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुरमा सञ्चालन हुनेछ ।
दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म वीरगञ्ज महानगरपालिका (वडा १७–३२), बहुदरमाई, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।
