वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बसडिल्वामा दलित समुदायको सशक्तीकरण र सामाजिक उत्थानका लागि सामुदायिक भवन निर्माणको शिलान्यास गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भवनको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा सहभागीहरूले यो भवनले दलित समुदायका सामाजिक, सांस्कृतिक, र शैक्षिक गतिविधि सञ्चालनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । नगर प्रमुखले सामुदायिक भवनले दलित समुदायलाई सामाजिक गतिशीलता र हकअधिकार सुनिश्चित गर्न सकारात्मक प्रभाव पार्ने बताए ।
महानगर प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरपालिकाले सामाजिक न्याय र समावेशिताका लागि यस्ता परियोजनालाई उच्च प्राथमिकता दिएको जानकारी गराउनुभयो ।
भवन निर्माणपछि दलित समुदायको शैक्षिक, सांस्कृतिक, र सामाजिक गतिविधिका लागि एकीकृत स्थान उपलब्ध हुने अपेक्षा गरिएको छ । यो पहलले दलित समुदायको सशक्तीकरण र समतामूलक समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
