काठमाडौं । अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने केही राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी गरी राज्यले आपतकाल घोषणा गरेका छन् ।
हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ । यस्तै विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।
कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित बनेको बीबीसीको समाचारमा उल्लेख छ । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ । कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको थिएन ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार अमेरिकाको मध्यदेखि पूर्वी तटसम्म करिब ३० राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ । मौसमविद्हरूका अनुसार खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स ९आर्कटिक वरपर चिसो हावाको प्रवाह० हो ।
