रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ मा गएराति आगलागी हुँदा ७ घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । वडा नम्बर ५ मा पर्ने पासवान टोलमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो । आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय ले बताए । आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमान्डमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको कमान्डमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । अन्य मनवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए ।
