काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि पाँच रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले प्लेअफ मा स्थान सुनिश्चित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।
यो हारसँगै पोखराले सात खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । पोखरा प्लेअफ समीकरणबाट बाहिरिँदा सुदूरपश्चिमले भने शीर्ष चार स्थान पक्का गरेको हो । ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखराका आन्द्रियस गौसले २१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । रेमोन रेफरले २८ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन थपे । किरण ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यी दुईले ६९–५ को स्थितिबाट छैटौँ विकेटका निम्ति ७० रनको साझेदारी गर्दै पोखराको मध्यक्रम सम्हालेका थिए ।



