वीरगञ्ज । बाराको जीतपुरमा प्रहरीले बिलबिजक तथा भन्सार कागजातमा कैफियत देखिएपछि माछा बोकेका दुईवटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। वीरगञ्जबाट काठमाडौं जाँदै गरेका ती पिकअपबाट १० लाख ७३ हजार ५०० रुपैयाँ मूल्य बराबरको माछा बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले राति जीतपुरसिमरा उपमहानगरपालिका–जीतपुरस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा नियमित सवारी जाँच गर्ने क्रममा दुवै पिकअप नियन्त्रणमा लिएको हो।
प्रदेश २–०३–००१ च ३३५८ र मधेश प्रदेश ०४–००१ च ०१७३ नम्बरका पिकअपमा माछा राखिएका क्यारेट फेला परेपछि प्रहरीले आवश्यक कागजात जाँच गरेको थियो।
जाँचका क्रममा भन्सार प्रज्ञापनपत्रमा उल्लेखित मूल्यभन्दा कम मूल्याङ्कन गरिएको, बिलमा उल्लेखित प्रजातिभन्दा फरक माछा भेटिएको र कागजातमा उल्लेखित तौलभन्दा बढी परिमाणमा माछा ढुवानी गरिएको आशंका देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, भन्सार प्रवेश गरेको मितिभन्दा अगाडिकै मितिमा जारी भएको क्वारेन्टाइन जाँच प्रमाणपत्रसमेत फेला परेको थियो। दुवै पिकअपमा रहेका माछाको बिलमा प्रतिगाडी ५ लाख ३६ हजार ७५० रुपैयाँका दरले कुल १० लाख ७३ हजार ५०० रुपैयाँ मूल्य उल्लेख गरिएको छ।
नियन्त्रणमा लिइएका दुवै पिकअप र माछालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।
