वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुरेश यादवका अनुसार मुख्यमन्त्री यादवले २८ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका हुन्।
तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ। दुवै दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
यद्यपि, मधेश प्रदेशमा नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। विभिन्न राजनीतिक दलले आ–आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिरहेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा सहभागी हुने चासो नदेखाउँदा नयाँ सत्ता समीकरणबारे अन्योल कायम छ।
५२ सिट जुटाउनुपर्ने चुनौती
१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०३ जना सांसद कायम छन्। सरकारलाई विश्वासको मत प्राप्त गर्न वा नयाँ सरकार गठन गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशसभामा जसपा नेपालको २७, नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२, नेकपाको १५ र जनमत पार्टीको १२ सिट रहेको छ। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक–एक सांसद छन्।
प्रदेशसभाको वर्तमान अंकगणितअनुसार कांग्रेस, एमाले र नेकपा एक ठाउँमा उभिए सरकारका लागि आवश्यक बहुमत जुटाउन सहज देखिन्छ। तर, दलहरूबीच सरकारको नेतृत्व र यसअघि भएको १५ बुँदे सहमति कार्यान्वयनका विषयमा सहमति जुट्न सकेको छैन।
नेतृत्व र सहमतिको विषयमा राजनीतिक दलहरूबीच सहमति नबने मधेश प्रदेशको सत्ता संकट थप लम्बिने देखिएको छ।
