काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकले नेपालको संविधानको रक्षा, परिवर्तनको सुदृढिकरण गर्दै दिगो शान्तिका साथै बिकास र समृद्धि तथा स्थायीत्वका लागि गठबन्धन बनाएपनि प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले गठबन्धनप्रति कांग्रेसले इमान्दारीता देखाएको भन्दै कपोलकल्पित कारणहरु देखाएर गठबन्धन भत्काउने प्रधानमन्त्रीको कदमलाई राजनीतिक बेइमानीका रुपमा लिएको बताउनुभयो । प्रधानमन्त्रीको राजनीतिक बेइमानीलाई ठहर गरेर प्रधानमन्त्रीलाई दिएको समथर्न समेत फिर्ता लिने निर्णय भएको उहाले जानकारी दिनुभयो ।बैठकले पार्टीका सांसदहरुलाई देश जनताका हितमा प्रभावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।
