काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणसम्पन्न गरि बिहीबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति बिशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताउनुभएको हो ।
उहाले चीनसंग ऋण लिनलाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिटै भारत भ्रमणमा जाने समेत बताउनुभयो । त्यस्तै उहाले अवको १८ महिनासम्म आफु प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहराउनुभयो ।
चीन भ्रमण सफल भएको र नेपालको बिकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको उहाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।
प्रधानमन्त्री ओली स्वदेश फर्किनुहुदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो ।
