२० असोज, काठमाडौं । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ ।
सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले विपद्ले पुर्याएको क्षतिको विस्तृत विवरण प्रस्तुत गर्दै तत्काल पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ आवश्यक रहेको बताएका हुन् ।
सचिव मैनालीका अनुसार सबभन्दा बढी क्षति आवास क्षेत्रमा भएको छ, जहाँ ७ हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवन गरी कुल १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी सडक सञ्जालमा २० अर्ब, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड र खानेपानी तथा सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँको क्षति पुगेको प्रारम्भिक आँकलन गरिएको छ । जलवायु न्यायका लागि प्राप्त हुने वैदेशिक सहायताका सन्दर्भमा यो ठूलो तथ्यांकले गम्भीर प्रश्न उब्जाएको उनले बताए ।
कनेक्टिभिटी सुधार र यातायात पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर युद्धस्तरमा काम गरिरहेको सचिव मैनालीको दाबी छ। हालसम्म क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेका छन् भने बेत्रावती क्षेत्रमा बेलीब्रिज निर्माणको काम भइरहेको छ। त्यसैगरी, क्रमशः धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने कार्य अघि बढाइएको छ ।
विपद्ले विस्थापित भएका परिवारका लागि पुनर्स्थापन गर्न जग्गा पहिचान भइसकेको छ । आगामी दशैँअघि नै पीडितहरूका लागि करिब ३०० वटा ट्रान्जिसनल सेल्टर (अस्थायी आवास) निर्माण गर्ने लक्ष्यसहित डिजाइन र निर्माणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
क्षतिको यो अकल्पनीय आकारलाई मध्यनजर गर्दै सरकारले राहत, उद्धार र पुनर्निर्माणका कार्यलाई दीर्घकालीन योजनाका साथ अगाडि बढाइरहेको छ ।
