२० असोज, सुनसरी । सुनसरीको इनरुवामा तरकारी बोकेको ट्रकभित्र लुकाएर लैजाँदै गरिएको ठुलो परिमाणको अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गएराति सखुवागाछी चोकमा गरिएको नियमित चेकिङका क्रममा २ हजार ५ सय ६६ किलो (साढे २५ क्विन्टलभन्दा बढी) गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई रोकी खानतलासी गर्दा बन्दागोबीका बोराहरूका बिचमा लुकाएर राखिएका ८३ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय ट्रक चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद गाँजा र सवारीसाधनसहित पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
