काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालको मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताउनु भएको छ । सिंहदरबार वैद्यखाना विकास समितिले धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका साथै समितिको ३० औ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले निरन्तर घाटामा रहेको वैद्य खानालाई सवै मिलेर जोगाउनुपर्ने बताउनुभएको हो ।
उहाले १५० वटा औषधी उत्पादन गर्ने संस्थाले अहिले १४ वटा औषधीमात्रै उत्पादन गर्नु उचित नभएको धारणा राख्नुभयो ।वैद्यखानामा कच्चा पदार्थ समयमा नै उपलव्ध गराउन नसक्ने ठेकेदार कम्पनीलाई चेतावनी दिने र काम गर्न नसके कारवाही गरेर नयाँ काम गर्ने व्यक्ति राख्नुपर्ने अवस्था आउन सक्ने उहाले बताउनुभयो ।
मन्त्री पौडेलले वैद्यखानालाई सहज रुपमा अघि बढाउन समिति गठन गर्नुपरे आफु तयार रहेको उल्लेख गर्नुभयो । उहाले संस्था आफैले कमाई नगर्ने हो भने निवृत भएपछि प्राप्त गर्ने सुविधा उपलव्ध गराउन नसक्ने स्पष्ट पार्नुभयो । बैद्यखानाले प्रयाप्त रुपमा औषधी उत्पादन गर्न सके आयुर्वेद औषधी आयात बन्द गर्ने उहाले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सिंहदरबार वैद्यखाना निरन्तर समस्यामा जानु उचित नभएको बताउनुभयो । देश कसरी डुबेको छ भन्ने हेर्न बैद्यखाना आउनुपर्ने उहाले बताउनुभयो । शाहले औषधि नै उत्पादन गर्न नसकेपछि वैद्यखाना निरन्तर ओरालो लागेको उल्लेख गर्नुभयो ।
उहाले राज्यले बैद्यखाना सञ्चालन गर्न नसेर महानगरलाई हस्तान्तरण गर्न सुझाव दिदै महानगरले बैद्यखाना राम्रोसंग चलाएर देखाउने बताउनुभयो । कार्यक्रममा सिंहदरबार वैद्यखाना विकास समितिका केहि कर्मचारीलाई सम्मान गरिएको थियो ।



