काठमाडौं । संसदीय सुनुवाई समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । सिंह दरबारमा बुधबार बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाई गर्दै सर्वसम्मतले उहाको नाम अनुमोदन गरेको हो । सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाईका लागि भाद्र ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।
समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत प्राप्त भएको थियो । समितिमा लम्सालको सुनुवाई गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उहाको नाम अनुमोदन गरिएको समिति सदस्य पशुपति शम्शेर जवराले जानकारी दिनुभयो ।
अनुमोदन अघि उहाले बैठकमा आफ्नो कार्ययोजना पेस गर्नुभएको थियो । सो क्रममा उहाले दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
त्यस्तै उहाले वैदेशिक लगानी भित्राउने, नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउने लगाएतका पहल गर्ने समेत धारणा राख्नुभयो । संसदीय सुनुवाई समितिले लम्साललाई अनुमोदन गरेसंगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।



