वीरगञ्ज । नारायणी अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासको नियुक्तिसँगै अस्पतालमा कर्मचारी व्यवस्थापन विवाद चुलिएको छ । अघिल्ला मेसुहरूले पुराना कर्मचारीलाई हटाएर आफ्ना निकटस्थहरूलाई ल्याउने प्रथालाई डा। दासले निरन्तरता दिएको आरोप लागेको छ ।
मेसु नियुक्त भएको एक महिनाभित्रै डा. दासले अस्पतालमा ३० पदका लागि नयाँ दरखास्त आह्वान गरेका छन् । उनले करारमा रहेका केही कर्मचारीहरूलाई हटाउने निर्णय गर्दै, अस्पताल विकास समिति र सरकारद्वारा स्वीकृत दरबन्दीभन्दा बाहिरका कर्मचारीको तलब भुक्तानी गर्न नसकिने निर्देशनसमेत दिएका थिए ।
यद्यपि, कार्तिक ११ गते उनले सहायक चौथो श्रेणीदेखि विशेषज्ञ चिकित्सकहरूका विभिन्न ३० पदका लागि नयाँ विज्ञापन प्रकाशित गरेका छन् । यसले पुराना कर्मचारीहरूलाई हटाएर नयाँलाई भर्ना गर्न खोजिएको आरोपलाई बल दिएको छ । आलोचकहरूले डा। दासको कदमलाई व्यक्तिगत स्वार्थ र कमिसनबाट प्रेरित भएको भन्दै प्रश्न उठाएका छन् ।
यसअघि पनि नारायणी अस्पतालले दुई पटक कर्मचारी भर्नाका लागि विज्ञापन गरी रद्द गरेको थियो, जसको आवेदन शुल्क फिर्ता नगर्दा आलोचना खेपेको थियो । यसले फेरि पनि विज्ञापन रद्द हुन सक्ने शङ्का पैदा गरेको छ ।
अस्पतालमा सहायक चौथो श्रेणीका आनमी, हेल्थ असिस्टेन्ट, नर्सिङ अधिकृत, स्टाफ नर्स, मर्मत सम्भार टेक्निसियन, फार्मेसी अधिकृतदेखि कार्डियोलोजिस्ट, न्यूरोलोजिस्ट, र पिडियाट्रिसियनसम्मका पदमा दरखास्त आह्वान गरिएको छ ।
अस्पतालमा जनशक्तिको अभावले आकस्मिक कक्ष र क्यान्सर उपचार केन्द्रका सेवामा प्रभाव परेको छ । सेवा कटौतीका साथै नयाँ संरचना सञ्चालनमा ढिलाइ हुनुले स्वास्थ्य सेवा निरन्तरता चुनौतीपूर्ण बनेको छ ।
मेसु परिवर्तनसँगै देखिएको यो विवादले अस्पतालभित्रको आन्तरिक व्यवस्थापन र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ। कर्मचारी व्यवस्थापनमा पारदर्शिता र स्थायित्वको अभावले सेवा सुधारको सट्टा थप अव्यवस्था ल्याउने चिन्ता बढेको छ ।



