मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो ।
हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन् ।
पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ । यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने उनको भनाइ छ ।
औद्योगिक तथा उत्पादन प्राविधिकहरूको न्यूनतम तलब भने यसअघि नै दुई हजार २९० रिंगेट छ । मेकानिकल इन्जिनियरको तलब तीन हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको दुई हजार ९८५ रिंगेट तलब छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक हो । मलेसियाले तलब बढाउँदा यसको फाइदा नेपाली श्रमिकहरूका लागि पनि हुनेछ ।



