रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एसपीको घुमुवा सादा पोशाकका प्रहरी भएको भन्दै विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका-२ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् ।
बैठाले स्थानीय व्यापारीहरूलाई आफू एसपीको घुमुवा प्रहरी भएको बताउँदै धाकधम्की दिएर रकम असुली गर्दै आएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीको कमान्डमा गएको प्रहरी टोलीले आइतबार साँझ बैठालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा बैठाको साथबाट २२ पोका गाँजा (२०० ग्राम), १० थान नाइट्रोभेट ट्याब्लेट, १ बोतल अयअबक म्ह्, १ थान मोबाइल फोन, नगद १७ हजार ९३५ रुपैयाँ र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए । हाल बैठा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



