वीरगञ्ज । नेपाल-भारत सीमावर्ती क्षेत्रअन्तर्गत वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन् ।
नेपालबाट भारततर्फ ठुलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको विशेष गुप्तचरी सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले शनिबार साँझ सीमा क्षेत्रमा विशेष चेकजाँच अभियान चलाएको थियो।
जाँचका क्रममा वीरगञ्जबाट रक्सौलतर्फ जाँदै गरेको एक शंकास्पद ई-रिक्सालाई रोकेर खानतलासी गर्दा रिक्साभित्र लुकाएर राखिएको बोराबाट २२ वटा कालो प्लास्टिकको प्याकेटमा तयार पारिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय सुरक्षा निकायले जनाएको छ।
चरेससहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका (छपकैया) निवासी ३९ वर्षीय अमर चौधरी रहेका छन् । पक्राउ परेका चौधरीलाई बरामद चरेस र ई-रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा उक्त चरेस पहाडी जिल्ला मकवानपुरका विभिन्न स्थानबाट सङ्कलन गरी बारा र पर्साको बाटो हुँदै भारततर्फ लैजान खोजिएको खुलेको छ ।
मकवानपुरदेखि राजमार्ग र विभिन्न सुरक्षा पोस्टहरू पार गर्दै ठुलो परिमाणमा लागूऔषध वीरगञ्जको मुख्य सीमावर्ती विन्दुसम्म पुग्नु र सीमा पार गर्नै लाग्दा भारतीय भूमिमा मात्रै पक्राउ पर्नुले नेपालतर्फको सुरक्षा सतर्कता र चेकजाँच प्रणालीमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै सङ्गठित तस्कर समूहले निर्बाध रूपमा अन्तरदेशीय लागूऔषध कारोबार गरिरहेको यस घटनाले पुनः पुष्टि गरेको छ ।
