वीरगञ्ज । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै विशेष गरी तराई–मधेसका महिलाहरूले निष्ठापूर्वक मनाउने पवित्र लोकपर्व ‘जितिया’ (जीवितपुत्रिका व्रत) आज (आइतबार) विधिपूर्वक समापन भएको छ । आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म मनाइने यो पर्व शुक्रबार ‘नहाय–खाय’ विधिसँगै सुरु भएको थियो ।
धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आमाहरूले आफ्ना सन्तानको रक्षा र समृद्धिका लागि ३६ घण्टासम्म जल र अन्न त्यागी कठोर ‘निराहार’ व्रत बस्ने गर्छन् । जितियाको व्रत बसेमा सन्तानलाई आईपर्ने दुःख, सङ्कट र अकाल मृत्युबाट जोगाउन सकिने दृढ जनविश्वास रहँदै आएको छ ।
पर्वको पहिलो दिन व्रतालु महिलाहरूले नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी घिरौँलाको पातमा तोरीको तेल, सिन्दूर, पिना ९खैर०, मेहन्दी र फूल चढाएर ‘नहाय–खाय’ गरेका थिए ।
व्रतको पूर्वसन्ध्यामा अर्थात् शुक्रबार मध्यरातमा ‘ओठगन’ विधिका रूपमा दही–च्युउरा, माछा तथा कोदो ९मरुवा० को परिकार खाने परम्परा अनुसार भोजन गरी शनिबार बिहान करिब ४ बजेदेखि व्रतालुहरू निरन्तर निराहार उपवास बसेका थिए । आज आइतबार बिहान नवमी तिथि सुरु भएपछि भगवान् जिमुतवाहनको पूजाआजा, कथा श्रवण र धार्मिक विधि पूरा गरी व्रत तोड्दै (पारण) पर्व सम्पन्न गरिएको छ ।
गोलबजार नगरपालिका–१० की व्रतालु गीता देवी झाले जितियाको व्रतमा निर्धारित विधि र कडा परम्परा पालना गर्दै उपवास बस्ने गरिएको र समापन पनि विशेष धार्मिक विधि अनुसार नै हुने बताइन् ।
मधेसी तथा थारू समुदायमा जितिया पर्वको विशेष महत्त्व रहेको छ । व्रतालु महिलाहरूले जिमुतवाहन (जीतमहान गोँसाई) देवताको पूजाआजा गर्दै जितियासँग सम्बन्धित पौराणिक कथाहरू सुन्ने र सुनाउने गर्छन्। पूजाका क्रममा बाँसको डालीमा मौसमी फलफूल र मिष्ठान्न भरेर अर्पण गर्ने परम्परा छ ।
गोलबजार–८ की व्रतालु रामकुमारी यादवका अनुसार जितियाको सुरुवात घिरौँलाको पातबाट पूजा गरी हुने र समापनका क्रममा केराको पातमा दही–च्युउरा, फलफूल तथा प्रसाद चढाएर भगवान्को आराधना गरिन्छ ।
जितिया धार्मिक आस्था र आमाको अतुलनीय वात्सल्यको प्रतीक मात्र नभई तराई–मधेसका विविध समुदाय, भाषा र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने सामाजिक एकता र सांस्कृतिक धरोहरका रूपमा स्थापित रहँदै आएको छ ।
