बारा । तराई-मधेशमा मातृवात्सल्य र सन्तानको दीर्घायुका लागि जितिया पर्वको हर्षोल्लास छाइरहँदा बारामा भने एकै गाउँका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बाराको देवताल गाउँपालिकामा शनिबार दुई १४ वर्षीया बालिकाको डुबेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार देवताल गाउँपालिका–६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा शनिबार साँझ नुहाउने क्रममा दुवै बालिका अचानक गहिरो पानीमा पुगेर बेपत्ता भएका थिए ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा देवताल गाउँपालिका–६ रौवाही निवासी भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र सोही ठाउँका राजेश पटेलकी १४ वर्षीया छोरी चान्दनी पटेल रहेका छन्। जितिया पर्वको ‘नहाई(खाई’ विधि नजिकिँदै गर्दा पोखरीमा नुहाउन गएका दुवै किशोरीको असामयिक निधनले सिङ्गो रौवाही गाउँ शोकमा डुबेको छ ।
बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र आफन्तहरू उद्धारका लागि तत्काल घटनास्थल पुगेका थिए ।
सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस बेनौलीका प्रहरी सहायक निरीक्षक धर्मेन्द्रकुमार कुर्मीका अनुसार तीव्र खोजीका क्रममा शनिबार साँझ करिब ५:५० बजे पोखरीको उत्तरतर्फको किनारबाट करिब २० फिट दक्षिण गहिरो पानीमा दुवै बालिका मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक विमल खतिवडाले घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा शव परीक्षणका लागि पहल भइरहेको जानकारी दिएका छन् ।
जितिया पर्वको मुखैमा घटेको यस दुस्खद घटनाले स्थानीय प्रशासन तथा प्रहरीले चाडपर्वका बेला जलाशय, नदी र पोखरी आसपास बालबालिकालाई एक्लै नछाड्न र विशेष सावधानी अपनाउन पुनः अपिल गरेका छन् ।
