काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैँतिहार लक्षित नोट सटही गर्ने भएको छ । दसैँतिहार लक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अघिल्लो वर्षहरूमा चाडपर्व लक्षित नयाँ नोट दिँदै आएकोमा यस वर्ष भने सुकिला नोट मात्रै वितरण गर्ने भएको छ । चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए ।
उनका अनुसार यस बर्षको दशैंमा सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने गरी राष्ट्र बैंकले सटही सुविधा खुलाउन लागेको हो । राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दसैंमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको उनको भनाइ छ ।
राष्ट्र बैंकले यसअघि दसैँमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो । यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण तयारी भएको बैंकले जनाएको छ ।
