काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्काटोले डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दवाव दिइएको भन्दै डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गर्नुभएको हो ।
उहाले तत्कालिन प्रचण्ड सरकारले नै व्यवसायीहरुले डेडिकेटेड र ट्रकलाईन विधुत उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दावी गर्नुभयो । डेडिकेटेड र ट्रकलाईनका बिषयमा आफुले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उहाले बताउनुभयो ।
बास्कोटाले माओवादी सत्ताबाहिर निस्केपछि रन्थनेर नेपाललाई बंगलादेश बनाउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको जिकिर गर्नुभयो । त्यस्तै बैठकको बिशेष समयमा माओवादी सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रकलाईनको बक्यौता नतिर्न पूर्वप्रधान मन्त्री प्रचण्डले भनेको भए बहस गर्न तयार रहेको तर्क गर्नुभयो ।
पौडेलले मुलुकको परिवर्तनका लागि माओवादीले गरेको जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिदै अनमिनको रेकर्ड हेर्न सुझाव दिनुभयो । अहिले उठेका प्रश्नहरुलाई बिगतका घाउ कोट्याउने गरि परिस्थीतिलाई असहज नबनाउन उहाले आग्रह गर्नुभयो ।
उहाले जनताले चलाएको आन्दोलन जनयुद्ध नै भएको जिकिर गर्नुभयो । पौडेलले टुँडीखेलमा विरोध गरेका युवाहरुको कुनै गल्ती नभएको र अवाज उठाएकै भरमा पक्राउ परेकालाई रिहा गर्न माग गर्नुभयो ।



