काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरु निर्माणमा ध्यान केन्द्रीत गरेको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा पत्रकारहरुसंग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताउनुभयो ।
शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उहाँले बताउनुभयो । उहाले आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका विश्वविद्यालयहरुलाई राज्य र समाजसँग जोड्दै अझ विशिष्टीकृत र सामाजिक बनाउन सकिने धारणा राख्नुभयो ।
उहाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरिएको समेत जानकारी दिनुभयो । उहाले नेपालमा नै चाहेको जस्तो शिक्षा प्राप्त गर्ने वातावरण बनाउदै बाहिर गएका विद्यार्थीहरुलाई पनि फर्काउन पहल गरिने बताउनु भयो ।
त्यस्तै उहाले विश्वविद्यालयका पदाधिकारीलाई औचित्यका आधारमा थप जिम्मेवार बनाइने पनि बताउनुभयो । मन्त्री भट्टराईले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको, समकक्षता प्रमाणपत्र एक साताभित्र उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
