काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ । सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रि परिषद् बैठकले हटाउने निर्णय गरेको हो ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ ।
यस्तै सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटी बेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको उनले बताए ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने उनको भनाइ छ ।



