काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार कसुरमा हदम्याद राख्ने बिषयमा प्रयाप्त छलफल हुनु जरुरी रहेको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा प्रचण्डले हदम्यादमा बिषयमा बिभिन्न कोणबाट कुरा आइरहेको भन्दै हदम्याद राख्ने वा नराख्ने भन्ने बिषयमा प्रयाप्त छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको हो ।
उहाले विधेयकलाई अघि बढाउदै गर्दा अख्तियारको भूमिकालाई पनि थप स्पष्ट पार्नुपर्ने आवश्यकता औल्याउनुभयो । आयोग र कर्मचारीतन्त्रबीचको अन्तरविरोधले शासन व्यवस्थालाई नै असर पारेको अनुभव रहेको भन्दै प्रचण्डले यस बिषयमा पनि थप छलफल आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्रचण्डले भ्रष्टाचार कसुरमा निलम्बतपश्चात् अदालतले अन्तिम फैसला दिँदासम्म निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति कस्तो हुने भन्ने बिषय जटिल रहेको धारणा राख्नुभयो । अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने व्यवस्था गर्न सकिने उहाले बताउनुभयो ।
प्रचण्डले शासन प्रणाली र नियमक संरचनाहरुमा परिमार्जन र सुधार गर्नुपर्ने धेरै बिषयहरु रहेको उल्लेख गर्नुभयो । अहिले सूचना प्रविधिमा देखिएको विकाससंगै समयानुकुल भ्रष्टाचार नियन्त्रण गर्न विधेयकलाई पूर्ण बनाउनुपर्ने समेत उहाले सुझाव दिनुभयो ।
