एजेन्सी । भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ । वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा भारतीय दूतावासले स्कुल बस र एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
भारतले स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस प्रदान गर्दै आएको छ । यो परम्परालाई निरन्तरता दिँदै, भारतले हालसम्म १,००९ एम्बुलेन्स र ३०० स्कुल बस नेपाललाई प्रदान गरिसकेको छ ।
भारतीय दूतावासले दिएको जानकारी अनुसार, पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको छ भने ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजनाको शिलान्यास गरिएको छ ।
गत पुस महिनामा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमा परियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको थियो ।
यस सहयोगले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस अवसरमा नेपाल–भारत मित्रता र सहकार्यको नयाँ अध्याय थपिएको भारतीय दूतावासले जनाएको छ ।
