काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उहाँका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।
शनिवार नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गर्नुभएको थियो । राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू नौ वर्षीया लालिमा राम र सात वर्षीया पुष्पा राम तथा पाँच वर्षीय छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै मृत्यु भएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगञ्ज पठाएको थियो । वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ती बालबालिकाको फुड प्वाइजनको कारण मृत्यु भएको उपचारमा संलग्न डाक्टरको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ ।
