वीरगञ्ज । विशेष सुचनाको आधारमा पर्सा जिल्लामा लागू औषध चरेश सहित दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगर पालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित एरियाबाट पक्राउ परेका व्यक्तिहरु भारततर्फ जाँदै गरेका थिए । प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले जाँच अभियानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण रक्सौल वडा नम्बर १ बडा परेउवा निवासी ३५ वर्षीय अनवर आलम र मोतिहारी पूर्वी छतौना निवासी २२ वर्षीय ईम्तेयाज आलम रहेका छन् ।
प्रहरी नायब उपरीक्षक दिपक भारतीका अनुसार, उनीहरुको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरेको र पछाडी भिर्ने कालो रङ्को झोलामा लुकाईछिपाई राखिएको अवस्थामा चरेश फेला परेको हो ।
प्रहरीले उनीहरुको साथबाट प्रति प्याकेट ५०० ग्रामका दरले २० प्याकेटमा १० किलोग्राम चरेश बरामद गरेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
