काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । मंगलबार सिंहदरबारमा गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बस सहित यात्रु त्रिशुलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा बर्षाको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशुली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताउनुभयो ।
त्यस्तै दुर्घटनास्थल भन्दा माथिल्लो भेगमा ग्रामिण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको समेत देखिएको उहाले जानकारी दिनुभयो ।
अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक बिभाग, चितवन प्रशासन कार्यालयलगाएतसंग छलफल गरिएको रिजालले उल्लेख गर्नुभयो । उहाले सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाइ उचित क्षतिपूर्ति र विमा वापतको रकम दिन ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।
अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दुखद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनिकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताउनुभयो । उहाले कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई वटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परिसकेको छ जसमध्ये १९ जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा अझै कम्तिमा ३८ यात्रु बेपत्ता छन् ।



