काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको तगारोका रुपमा रहेको भ्रष्टाचारलाई निर्मुल पार्ने गरि अघि बढ्ने बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेको र यसमा भ्रष्टाचार मुख्य तगारो भएकाले भ्रष्टाचारलाई निर्मुल पार्ने गरि अघि बढ्ने बताउनुभएको हो ।
सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्था प्रति प्रतिबद्ध रहेको उहाले बताउनुभयो । उहाले देशलाई विकास र समृद्धितर्फ अघि बढाउनका लागि संविधानले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले गल्ती गर्ने कसैलाई छुट नहुने भन्दै अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले नगर्ने स्पष्ट पार्नुभयो । उहाले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आएका महत्वपूर्ण सुझावहरुलाई समावेश गरेर विधेयकलाई समृद्ध बनाइने धारणा राख्नुभयो ।
बैठकमा समिति सदस्यहरुले समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्नका लागि गम्भीर भएर अनुसन्धान गर्न र दोषी देखिएका जो कोहिलाई पनि कारवाही गर्न सुझाव दिएका थिए । समिति सदस्य रास्वपा सभापति रवि लामिछानले राजनीतिक दल संलग्न भ्रष्टाचारमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै समिति सदस्य सांसद सरिता प्रसाईंले अख्तियारप्रति जनताको भरोष कमजोर हुँदै गएको भन्दै अख्तियारको प्रमुखमा राजनीतिक नियुक्त नगर्न सुझाव दिनुभयो ।
त्यस्तै प्रसाईंले पुल्चोकस्थित मन्त्री क्वाटरलाई सांसद क्वाटरमा परिणत गर्न पनि सुझाव दिनुभयो । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि अर्को बैठकबाट छलफल सुरु हुने समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।



