काठमाडौं । नेपाली कांग्रेसले बंगलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीहरुको सहज स्वदेश फिर्ताको वातावरण बनाउन माग गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरुको सुरक्षा एवं इच्छुकहरुलाई स्वेदश फिर्तिको सहज वातावरण निर्माण गरिदिन माग गर्ने निर्णय गरेको हो ।
बैठकले अविरल वर्षाका कारण बाढी डुवान र पहिरोमा परी कयौ घरपरिवारहरु विस्थापित भएको भन्दै उचित राहत तथा व्यवस्थापन, वेपत्ताहरुको खोजी उद्दार, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतकमा श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले बाढी, पहिरो र डुवानका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्न कांग्रेसका सबै भातृ र शुभेच्छुक संस्थालाई आग्रह गर्ने निर्णय गरेको उहाले बताउनुभयो । त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
