काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले मुलुकलाई स्थीरता दिदै संविधानलाई गतिशिल बनाउनका लागि ठूला राजनीतिक दलहरु एक ठाँउ आएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा लेखकले सदनमा हेरक महिना विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य गर्दै राजनीतिक स्थीरता कायम गर्नका साथै समयसापेक्ष संविधानलाई गतिशिल बनाउनका लागि एमालेसंग सहकार्य गरिएको बताउनुभएको हो ।
उहाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने भाषण सुनिएपनि व्यवहारमा नदेखिएको र स्टण्डको राजनीतिबाहेक केहि हुन नसकेको जिकिर गर्नुभयो । मुलुकमा कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने गरि दुई दलबीच सहमति भएको उहाको भनाइ छ ।
लेखकले संविधानलाई जनताको आवश्यकता अनुसार संशोधन गर्ने भन्दै संशोधनका नाममा मुलुकलाई पछि ढकेल्न खोजेको आरोप सत्य नभएको बताउनुभयो ।
त्यस्तै उहाले सदनमा दुई ठूला राजनीतिक दलहरु मिले लोकतन्त्र कमजोर होलाकी भन्ने आशंका चिर्नका लागि माओवादीले प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखकले अव एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने बताउनुभयो । उहाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन नयाँ सरकारले प्राथमिकताका साथ काम गर्ने जिकिर गर्नुभयो ।
