वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसंगको सहकार्यमा कामपनि थालिसकेको उनले बताएका छन् ।
वीरगञ्जमा बुधबार प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको सरकोकारवालासंग अन्तरकृया एंव संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले भने,‘ मधेस प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटनपनि हो । यदि पर्यटन क्षेत्रको विकास गर्न सकियो भने यो प्रदेशको कायापलट गर्न सकिन्छ ।यसका लागि निजी क्षेत्रलाईपनि संगै लिएर प्रदेश सरकारले कामपनि थालिसकेको छ ।’
प्रदेश सरकारको आगामी निती, कार्यक्रम तथा बजेटमा पर्यटकीय क्षेत्रका पूर्वाधार विकास र प्रचार प्रसारका लागि योजना र कार्यक्रमहरु समावेश गरिसकिएको जानकारीपनि उनले गराए ।
मधेस प्रदेशमा पर्सा र बारा , रौतहट र सर्लाही , महोत्तरी र धनुषा तथा सिरहा र सप्तरीका पर्यटकीयस्थललाई जोडेर चार वटा पर्यटकीय सर्किट बनाउने काम भइरहेको उनले बताए । मधेश प्रदेशमा घुम्न आउने पर्यटकहरुलाई कम्तिमापनि तीन दिन बास बसाउन सक्ने गरी पर्यटन क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको जानकारी उनले गरााए ।
मुख्यमन्त्री सिंहले भने,‘अहिलेको सरकार पहिलेको सरकारको जस्तो मोजमस्ती गर्नका लागि बनेको होइन । रातदिन काम गर्नका लागि बनेको हो । मधेस सरकारमाथि विगत ७ बर्षदेखि परेको नकरात्मक धारणालाई मेट्ने गरि अहिलेको सरकारले काम गरिरहेको छ । ’
कार्यक्रममा प्रदेशका उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले विक्रम संवत २०८२ लाई मधेस प्रदेश सरकारले ‘भिजिट मधेस’ बर्षका रुपमा बनाउने घोषणा गरे । ‘भिजिट मधेस’ को नारा ‘ घुमौं मधेस,बुझौं मधेस’ रहेको जानकारीपनि गरााए । उनले भने,‘ यसका लागि प्रदेश सरकारले अहिलेदेखि नै तयारी थालिलसकेको छ ।’
प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि थुप्रै योजनाहरु समेटिएको जानकारी पनि उनले गराए । मधेस प्रदेशका ६५ वटा पर्यटकीइ गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार विकासका लागि डिपिआर बनाउन आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्थापन गरिसकिएको उनले बताए । मधेस प्रदेशको मुख्य पर्यटकीय गन्तव्यस्थल पर्साको ठोरीमा पर्यटन पूर्वाधार विकासका लागिपनि आगामी नीति तथा कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारीपनि मन्त्री भट्टराईले गराए ।



