काठमाडौं । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।
१०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए ।
ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १९१ रनमा आउट भए । एक समय नेपाल ७ ओभरमा २६-५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपाललाई अन्तिम १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो । १९ औं ओभरमा मुश्ताफिजुर रहमानले दीपेन्द्रलाई आउट गर्दै मेडन ओभर राखेपछि जितको सम्भावना सकिएको थियो । गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए ।
