नयाँ दिल्ली । दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा ७ बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटलमा उपचार भइरहेको छ ।
राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गरेकी छिन्। दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ, राष्ट्रपति मुर्मूले एक्स (ट्वीटर) मा लेखेकी छिन्, शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस् । यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । केजरीवालले एक्समा लेखेका छन्, बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ । यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं ।



