बिहीबार राति महेन्द्रनगरबाट काठमाडौं आउने क्रममा महाकाली यातायातको सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस कपिलवस्तुमा दुर्घटनामा पर्यो । राति करिब ११:३० बजे बस कपिलवस्तुको शिवराज नगरपालिका- १ सुरही पुल नजिकै भीरबाट करिब २०० मिटर तल सुरही खोलामा बजारियो ।

बसमा करिब ४० जना सवार थिए । काठमाडौं आउन हिँडेका यात्रुमध्ये १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते छन् ।घाइते ३० जनामध्ये ९ जनाकाे बुटवलमा र अन्यको सञ्जीवनी तथा आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।

यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए ।



