काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार पर्व श्रद्धापूर्वक मनाइँदैछ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि कागलाई यमराजको सन्देश वाहकका रूपमा मानी मीठा–मीठा खानेकुरा दिएर पूजा गरिरहेका छन् ।
चाडपर्वको ५ दिनसम्म मनाइने यस यमपञ्चक अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी तिथिको सूर्योदयकालमा काग तिहार पर्व मनाउने शास्त्रीय विधान रहेको छ । नेपाली समाजमा काग कराइहालेमा कुनै नयाँ सन्देश वा पाहुना आउने सूचकका रूपमा लिने चलन अझै पनि गहिरो रूपमा जीवितै छ ।
हिन्दु धर्मशास्त्र अनुसार कागलाई मृत्युका देवता यमराजको दूत मानिन्छ। पृथ्वी लोकमा रहेका सम्पूर्ण जीवजन्तुको जन्म र मृत्युको विवरण राख्ने यमराजका लागि सूचना आदानप्रदान गर्ने मुख्य पात्रकै रूपमा कागलाई लिने गरिन्छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने र लैजाने क्षमता भएका कारण नै यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात कागलाई दही र भात अति प्रिय लाग्ने हुनाले आजको दिन कागलाई दही–भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश पुर्याइदिने धार्मिक विश्वास रहिआएको छ। आज कागलाई भोजन नगराई आफूले मात्र खाएमा पापको भागी भइन्छ भन्ने जनविश्वाससमेत समाजमा विद्यमान छ ।
पूजाका क्रममा कागलाई सम्झँदै भनिन्छ— ‘तपाईँ कागको रूपमा हुनुहुन्छ, यमराजका दूत हुनुहुन्छ‘ मलाई यम (मृत्यु) का सङ्कटबाट बचाउनुहोस्।’ यस किसिमको पूजाले धार्मिक पक्ष मात्र नभई जीवजन्तु र मानिसबीचको घनिष्ठ सम्बन्ध, पक्षीप्रतिको कृतज्ञता र प्रकृतिप्रतिको सम्मान एवं सहअस्तित्वको समेत प्रवर्धन गर्ने गर्छ ।
पौराणिक मान्यता अनुसार भगवान् विष्णु, बली राजाको दानशीलताबाट प्रसन्न भई कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन पृथ्वीको शासन गर्ने अधिकार दिएका थिए । सोही समयमा बली राजाको पूजा गरेमा भगवान् विष्णु प्रसन्न हुने वरदान भएका कारण यस पर्वमा बली राजाको समेत स्मरण र पूजा गर्ने प्रचलन छ ।
आजको दिन काग तिहारको अवसर पारेर राजधानीको कागेश्वरी मनोहरास्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा कागको विशेष पूजा–आराधना गर्न दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।
