काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज कार्कीलाई नयाँ आईजीपी नियुक्त गरेको निर्णयका साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिए ।
हालै सार्वजनिक भएको इनम सापकोटाको अडियो प्रकरणमा कांग्रेस सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको भन्ने प्रसङ्ग अहिले राजनीतिक वृत्तमा निकै चर्चामा छ ।
कांग्रेसले यस प्रकरणलाई सरकारको षड्यन्त्रका रूपमा व्याख्या गर्दै कडा आपत्ति जनाएको छ। सरकारले निराधार, कपोलकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ ।
सरकार प्रतिपक्षको आवाज थुन्न उद्धत रहेको आरोप लगाउँदै कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध राजनीतिक एवं कानुनी रूपमा कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।
पत्रकारहरूमाथिको धरपकड लगायत सरकारका पछिल्ला सम्पूर्ण विवादित गतिविधिहरूबारे निष्पक्ष संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसले राखेको छ । साथै, यी विषयहरूमाथि छलफल गर्न चाँडोभन्दा चाँडो प्रतिनिधिसभाको बैठक आह्वान गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ ।
पार्टीका पदाधिकारीहरूका अनुसार समसामयिक राजनीतिक परिस्थिति बाहेक पार्टीको आन्तरिक सङ्गठन र महाधिवेशनका बाँकी प्रक्रियाबारे पनि आजको बैठकमा गहन छलफल हुनेछ ।
देशका विभिन्न जिल्ला र प्रदेशहरूमा पार्टी अधिवेशन हुन बाँकी रहेकाले ती विषयमा महामन्त्रीद्वय र सहमहामन्त्रीहरूबीच आवश्यक समन्वय र छलफलका लागि यो अनौपचारिक बैठक आयोजना गरिएको जनाइएको छ ।
